काठमाडौँ - नेपालमा मोटरसाइकल प्रविधिमा नयाँ अध्याय सुरु भएको छ । यामाहाले देशमै पहिलो पटक हाइब्रिड प्रविधिमा आधारित मोटरसाइकल सार्वजनिक गर्दै इन्धन बचत, कम उत्सर्जन र आधुनिक राइडिङ अनुभवलाई केन्द्रमा राखेको छ । बढ्दो इन्धन मूल्य र सहरी ट्राफिक समस्याबीच कम्पनीले यो प्रविधिलाई दैनिक आवागमनका लागि प्रभावकारी समाधानका रूपमा प्रस्तुत गरेको हो ।
राजधानीको कमलादीस्थित अग्लो स्काइ टावरमा आयोजित विशेष कार्यक्रममा नयाँ पुस्तालाई लक्षित गर्दै तयार गरिएको हाइब्रिड मोटरसाइकल अनावरण गरिएको थियो । कम्पनीका अनुसार यो कदमले नेपाली बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ, जसले मोटरसाइकल उद्योगमा प्रतिस्पर्धा र नवप्रवर्तनलाई थप गति दिने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा डिजिटल प्लेटफर्मका इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु दिइएको थियो भने दोस्रो चरणमा सञ्चारकर्मी, व्यवसायिक साझेदार, डिलर, राइडर समुदाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चर्चित व्यक्तित्वहरूको उपस्थिति र रोबोट तथा मानवको संयुक्त प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो ।
नयाँ हाइब्रिड मोटरसाइकल एफजेड सिरिजमा आधारित रहेको कम्पनीले जनाएको छ । यसमा १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनसँग स्मार्ट मोटर असिस्ट प्रविधि संयोजन गरिएको छ, जसले सुरुवाती गति र कम स्पिडमा थप शक्ति प्रदान गर्ने, इन्धन खपत घटाउने र वातावरणमैत्री राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार परम्परागत मोटरसाइकलको तुलनामा यस हाइब्रिड प्रणालीले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज, सहज स्टार्ट–स्टप सुविधा तथा कम सञ्चालन खर्च उपलब्ध गराउनेछ । सहरी क्षेत्रको ट्राफिक जाम र दैनिक आवागमनलाई ध्यानमा राखेर डिजाइन गरिएको यो मोटरसाइकलले नेपालको विविध भौगोलिक अवस्थासँग पनि राम्रोसँग अनुकूल हुने अपेक्षा गरिएको छ ।
सुरक्षा र प्रदर्शनलाई प्राथमिकतामा राख्दै मोटरसाइकलमा सिंगल–च्यानल एबीएस, रियर डिस्क ब्रेक, चौडा रेडियल टायर तथा हल्का संरचना जस्ता सुविधा समावेश गरिएको छ । साथै एलईडी हेडलाइट, आधुनिक इन्स्ट्रुमेन्ट क्लस्टर र E20 फ्युल अड्याप्टिबिलिटी जस्ता प्रविधिले यसको डिजाइनलाई भविष्य–उन्मुख बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अधिकारीहरूले हाइब्रिड प्रविधि नेपालमा दिगो यातायाततर्फको महत्वपूर्ण कदम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उन्नत र विश्वस्तरीय प्रविधि नेपाली बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अनावरणसँगै नेपालमा मोटरसाइकलिङको नयाँ युग सुरु भएको सन्देश दिँदै कम्पनीले प्रदर्शन, दक्षता र वातावरणीय दिगोपनलाई केन्द्रमा राखेर भविष्यको यातायातलाई नयाँ दिशातर्फ लैजाने लक्ष्य सार्वजनिक गरेको छ ।

