काठमाडौं - रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा करिब ६०० मालवाहक, ३०० यात्रुवाहक र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारीसाधनमा क्षति पुगेको छ।
बाढीले चीनको केरुङ नाकामा सामान लिन पुगेका तथा भन्सार जाँचपासका लागि राखिएका ट्रक, कन्टेनर, बस, माइक्रोबस र नयाँ सवारीसाधनमा समेत ठूलो क्षति पुर्याएको महासङ्घले जनाएको छ।
महासङ्घले अर्को सूचना जारी नभएसम्म बाढी प्रभावित क्षेत्रमा यातायात सेवा स्थगित गरेको जनाएको छ।
उसले सरकारसँग तत्काल सबै निकाय परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। साथै प्रभावित यातायात व्यवसायी तथा मजदुरको जीविकोपार्जन पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।


