एजेन्सी - युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथि भएको आक्रमण भयावह बनेको छ। पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा भएको प्रहारमा कम्तीमा ६४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। मृतकमध्ये १३ जना बालबालिका रहेका छन्।
टेड्रोस गेब्रेयससका अनुसार गत शुक्रबार पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणमा कम्तीमा ८९ जना घाइते भएका छन्। आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको छ, जसले घाइते र बिरामीको उपचारमा गम्भीर संकट सिर्जना गरेको छ।
सुडान सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको द्वन्द्वमा फसेको छ। यस क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा परिरहेका छन्।
अस्पतालमा भएको आक्रमणको विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार युद्धमा हालसम्म ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
टेड्रोसले अन्तर्राष्ट्रिय समुदायलाई सुडानमा हिंसा कम गर्न तत्काल कदम चाल्न आह्वान गरेका छन्।

