काठमाडौं - नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो ।
समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए । उनले पहिला पनि नेपाली टोली फाइनलमा चुक्न पुगेकाले यससटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।
उनले भने, ‘तयारी राम्रो गरिएको छ । १४–१५ जना राष्ट्रिय टिमबाटै खेलेका खेलाडीहरु छन् । हाम्रो लक्ष्य जित्ने नै छ । पहिला पनि फाइनलमा चुक्न पुग्यौं । यसपाली चुक्ने छैनौं । टिममा त्यस्तो समस्या छैन सबैजना राम्रो खेलाडीहरु हुनुहुन्छ ।’
कार्यक्रममा राष्ट्रिय यू–२० टोलीका खेलाडी, प्रशिक्षक, एन्फा पदाधिकारी तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहको थियो ।
यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा भुटान पाएको छ। नेपालले २३ मार्चमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । पहिलो खेलपछि एक दिन ब्रेक छ ।
नेपालले २५ मार्चमा श्रीलंकाविरुद्ध खेल्नेछ। समूह ‘ए’को अन्तिम खेलमा नेपालले २७ मार्चमा आयोजक माल्दिभ्सविरुद्ध खेल्ने खेल तालिका छ । समूह चरणको खेल राउन्ड रोबिनअनुसार हुनेछ ।
प्रतियोगितामा नेपाल, भुटान, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी सात वटै सदस्य राष्ट्रको सहभागिता रहेको छ । सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ‘ए’मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’मा बंगलादेश, भारत र पाकिस्तान छन् ।

