Harsamaya
तीन व्यवसायीलाई ३० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न उद्योग तथा पसलमा गरेको अनुगमनका क्रममा तीन व्यवसायलाई जरिवाना गरेको छ।

विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गर्दा कैफियत भेटिएका व्यवसायमाथि कारबाही गरिएको हो।

अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका–७, चापागाउँस्थित एकता मार्ट स्टोर लाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी काठमाडौँ महानगरपालिका–२९, बसुन्धरास्थित किसान हार्ड एन्ड सप्लायर्स र गणपति ट्रेड सप्लायर्स लाई जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ।

यस्तै अनुगमनका क्रममा काठमाडौँ र ललितपुरका विभिन्न पसल तथा सप्लायर्सलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ। मूल्य सूची नराख्ने, बिल जारी नगर्ने वा उपभोक्ता हित विपरीतका गतिविधि देखिएमा सचेत गराउँदै आगामी दिनमा सुधार गर्न निर्देशन दिइएको हो।

विभागका अनुसार बजारमा उपभोक्ताको हित संरक्षण गर्न नियमित रूपमा स्थलगत अनुगमन जारी राखिनेछ। साथै उपभोक्ता संरक्षण ऐनविपरीतका गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

650272363_2433110120454678_2310727767287518525_n-1773748363.png

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update