
काठमाडौं - यस वर्ष हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले दुई जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने भएको छ ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका रामकृष्ण थापा र सुन्दर शिरीषलाई यो वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए । थापा नयाँ पत्रिकामा कार्यरत छन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिक, ग्लोबलपाटी डटकम र सर्वपक्ष दैनिकमा कार्यरत छन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै आएको छ ।
आगामी फागुन १ गते मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।
त्यस्तै लामो समयदेखि साहित्यविधामा कलम चलाउँदै आएका साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई पनि सम्मान गर्ने संस्थाले जनाएको छ । सोही अवसरमा संस्थाले ९ जना जेहेन्दार, विपन्न, दलित विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्ने जनाएको छ ।