Harsamaya
युवराज दुलालको चुनावी खर्च २५ लाखभन्दा बढी
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार युवराज दुलाल ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार युवराज दुलालले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।

उनले पेश गरेको विवरणअनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा कुल २५ लाख ३८ हजार ८८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणअनुसार सबैभन्दा धेरै रकम वडा तहका प्रतिनिधि परिचालनमा खर्च भएको देखिन्छ। यस शीर्षकमा ४५ वटा वडामा प्रतिनिधि परिचालनका लागि १४ लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी घर तथा सवारीसाधन भाडा र इन्धन शीर्षकमा ४ लाख १० हजार ५२२ रुपैयाँ, विद्युतीय माध्यमबाट प्रचार–प्रसारमा ३ लाख ४० हजार रुपैयाँ, तथा प्रचार सामग्री (झण्डा, टिसर्ट)मा २ लाख २० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

यसैगरी ब्यानर र स्टिकर जस्ता प्रचार सामग्रीमा १ लाख ५३ हजार ६०० रुपैयाँ, निर्वाचन कार्यालय सञ्चालनमा १ लाख ९० हजार २० रुपैयाँ, मतदाता अभिमुखीकरणमा ६० हजार रुपैयाँ तथा प्रिन्टिङ खर्चमा ५४ हजार ५४६ रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ। उक्त खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार सम्बन्धित निर्वाचन कार्यालयमा पेश गरिएको जनाइएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update