Harsamaya
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
फोहोरको गाडी ।

नुवाकोट - स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विसर्जन  रोकिएको छ ।

बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । 

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए । उनले भने, ‘पटक–पटक भएका उधारो सहमतिले हामी  पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।’

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो । 

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update