बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले उक्त दादुरा नियन्त्रणमा आएको जानकारी दिए । संघ र प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उनले बताए ।
उनका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन् । १४ नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने छ ।

