काठमाडौं - प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए ।
जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् ।
कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

