Harsamaya
बाजुरामा समानुपातिकमा पनि काँग्रेस पहिलो

बाजुरा - बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली काँग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको काँग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये काँग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै नेकपा एमालेले १५ हजार ८९७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८२०, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ३५८ राप्रपाले ४७० नेपाल जनता संरक्षण पार्टीले १३६ सार्वभौम नागरिक पार्टीले १३१ नेपाल कम्युनिस्ट पार्टी माओवादीले २१५ मत प्राप्त गरेको हो। अन्य विभिन्न पार्टीले एक सय कम मत प्राप्त गरेका छन्।

कुल खसेको मत मध्ये ४४ हजार ४६९ मत सदर भएको छ । भने १ हजार २ सय मत बदर भएको हो।समानुपातिकतर्फ ८९ हजार ३४३ मतदाता सङ्ख्या थिए।आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरी ५४० मतका साथ विजयी भएका थिए ।

गिरीले १७ हजार १७३ मत प्राप्त गरेका थिए। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६३३ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका थिए । नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४२४ प्राप्त गरेका हुन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update