जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री
काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।
उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।
‘जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको थियो । आज विद्रोहबाट खोसिएको सत्ता वैधानिक रुपमा पनि खोसिन गइरहेको छ । मत परिमाणले देखाएको छ । यसको जग जेनजी जनआन्दोलन हो,’ उनले भने ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे । ती माग पूरा गराउन आफूहरू निरन्तर खबरदारी गर्ने उनको भनाइ थियो ।
‘जेनजीले उठाएका मागहरू आउने सरकारले पूरा गर्नेछ र त्यो पूरा गराउनको लागि हामी खबरदारी गर्नेछौँ । हामी हिजो पनि सडकमा थियौँ । कोही साथी आफ्नो जिम्मेवारी पूरा गर्न सरकारमा गए पनि फर्किएर सडकमा नै आउने हो । सडकबाट फेरी पनि सरकारलाई सहयोग पनि गर्छौँ र खबरदारी पनि गर्छौँ’ उनले भने ।

