जनकपुर - प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट भारी मतका साथ विजय प्राप्त गरेका रास्वपाका मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । आज बिहान २ बजे नतिजा सार्वजनिक भएसंगै उनलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
उनले जानकी मन्दिर पुगेर पूजापाठ गर्दै जानकी माताको आशिर्वाद लिएका छन् । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै रास्वपाका प्रवक्ता समेत रहेका झाले अब धनुषाको हरेक क्षेत्रको विकास गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले खानेपानी, सरसफाई, पर्यावरण, भौतिक संरचनामा रणनितिक लगानीदेखि संस्कृतिक धरोहरहरुलाई सूचिकरण गर्ने पक्रिया अगाडि बढाउने बताए । झाले विशेष गरी जनकपुर रेल्वे र जनकपुर एयरपोर्टलाई आर्थिक लाभ लिनसक्ने केन्द्रको रुपमा आधार बनाउन रणनितिक प्रक्रिया अगाडि बढाउने बताए ।
उनले राजनितिमा प्राथमिकताहरु सँधै यतावत नरहिरह्ने हुनाले चुनौतीहरु परिवर्तन भइरहेसंगै प्राथमिकताहरु पनि परिवर्तन हुँदै जाने बताए ।
रास्वपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा रहेका १०० वटा बुँदाहरु धनुषाका लागि पनि यथावत रहने तर त्यस बाहेक पनि जनकपुर र धनुषामा गर्नुपर्ने कार्यहरु अझ रहेको झाले जानकारी दिए ।
झाले सरकार र सदन गठन भएपछि पार्टीले निर्धारण गरे क्याबिनेटमा बस्ने/नबस्ने बारे विचार गर्ने बताए । उनले सक्षम व्यक्तित्वहरुको कमि नरहेकाले क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुने जानकारी दिए ।
सैद्धान्तिक रुपमा रास्वपाको परिवर्तनको एजेन्डामा समाहित जनाएर गठबन्धन गर्न कुनै दल वा पार्टीले इच्छा जाहेर गरे रास्वपाले ती पार्टी र दललाई स्वागत गर्ने झाले स्पष्ट पारे । उनले संख्यात्मक गठबन्धन भने नगर्ने बताए ।
झा ४३९८८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजय भएका हुन् । उनको निकट प्रतित्बन्धी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले जम्मा १६६५२ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी जुली महतोले ९७८६ मत मात्र प्राप्त गरेकी थिइन् ।

