Harsamaya
परिणाम अपेक्षाअनुसार आएन, तर लोकतन्त्रको जित भएकोमा खुशी छु : जगदिश्वर नरसिंह केसी
नेपाली कांग्रेसका नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदिश्वर नरसिंह केसी ।

काठमाडौं - नेपाली कांग्रेसका नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदिश्वर नरसिंह केसीले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको जित भएकोमा खुशी व्यक्त गरेका छन्।

निर्वाचनपछि जारी वक्तव्यमा उनले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै चुनावी अभियानमा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता, आफन्तजन तथा शुभेच्छुकप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

केसीले केही महिनाअघि देशको राजनीतिक अवस्था अत्यन्त तनावपूर्ण रहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रसमेत जोखिममा पर्ने परिस्थिति देखिएको बताएका छन् । त्यस्तो परिस्थितिमा लोकतन्त्र जोगाउने सबैभन्दा प्रभावकारी माध्यम निर्वाचन नै भएको भन्दै आफ्नो पार्टी सुरुदेखि नै चुनावको पक्षमा दृढतापूर्वक उभिएको उनले उल्लेख गरेका छन्।

उनले विभिन्न अड्कलबाजी र अवरोधबीच पनि अन्ततः निर्वाचन सम्पन्न भएको र संविधान सुरक्षित रहँदै लोकतान्त्रिक प्रक्रिया अघि बढेकोमा सन्तोष व्यक्त गरेका छन्।

नुवाकोट क्षेत्र नम्बर २ का विजयी उम्मेदवारलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै लोकतन्त्रको रक्षा, संविधानको सम्मान र जनताको सेवामा सधैं प्रतिबद्ध रहने प्रतिज्ञा पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update