Harsamaya
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरे लगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए । 

उनले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौंको तारकेश्वरको नागर्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेका थिए ।

अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथि प्रदीपजंघ केसी, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए ।

अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे ।
अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङ गरेका छन् । निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृह मन्त्रालयको कन्ट्रोलमा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटरिङ गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update