रौतहट - रौतहटको गौरस्थित कारागार कार्यालयमा प्रतिनिधि सभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । कारागारमा रहेका कैदी बन्दी र त्यहाँ खटिएका सुरक्षाकर्मी एवं कर्मचारीहरूले आज मतदान गरेका हुन् ।
कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए ।
६३ जना पुरुष मतदातामध्ये दुई जना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन् । कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन् । कैदी बन्दीका अतिरिक्त सोही मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि मतदान गरेका छन् ।
मतदान अधिकृत थापाका अनुसार, मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी ३ जना कर्मचारी तथा कारागारका कर्मचारी, नेपाल प्रहरी र नेपाली सेना गरी २२ जनाले मतदान गरेका छन् ।
निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी कुल ८६ जनाले यस केन्द्रबाट मतदान गरेको मतदान अधिकृत थापाले जानकारी दिए । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको भए पनि मतपेटिका सिल गर्ने कार्य भने निर्वाचन आयोगको कार्यतालिका अनुसार साँझ ५ बजेपछि मात्र गरिने बताइएको छ ।

