Harsamaya
मतपेटिका सङ्कलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी 
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी ।

काठमाडौं - निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । भण्डारी आज (बिहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबैले आ–आफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे । ‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु’ उनले भने ।

उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए । साथै, उनले मतपेटिका सङ्कलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्ने पनि बताए ।

‘मतपेटिका सङ्कलन भएपछि २४ घण्टा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्छौँ । हिमाली क्षेत्रमा पनि मतदान भइरहेको छ, पाँच बजेसम्म मतदान सकिन्छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update