Harsamaya
दाङका निकुञ्च प्रभावितले गरे मतदान बहिष्कार

दाङ - दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा एक जनाले पनि मतदान गरेका छैनन् ।

मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

त्यस्तै बबइ-१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् ।

निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान नगर्ने बताए । ‘हाम्रो माग सम्बोधन नभए मतदान नगर्ने घोषणा गरेका थियौँ’, उनले भने, ‘हाम्रो कुरा सुनुवाइ भएन । गाउँले सबैले सल्लाह गरेर चुनावमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’

 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update