काठमाडौँ - मौन अवधि सुरु भएसँगै प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । काउन्सिलले मतदान सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष/विपक्षमा कुनै पनि प्रकारका विज्ञापन, टक सो, विश्लेषण, टिप्पणी तथा प्रश्नोत्तर कार्यक्रम प्रसारण नगर्न स्पष्ट निर्देशन दिएको छ ।
काउन्सिलका अनुसार मौन अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रसारजन्य सामग्री प्रकाशन वा प्रसारण गर्नु आचारसंहिताविपरीत हुनेछ । यस्तो गतिविधि भेटिएमा पत्रकार आचारसंहिता, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तुरुन्तै कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आचारसंहिता उल्लङ्घनका घटनालाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण र लोककल्याणकारी विज्ञापन भुक्तानीको आधारका रूपमा समेत अभिलेखीकरण गरिने जानकारी दिए ।
मौन अवधिमा निष्पक्षता र जिम्मेवारीलाई सर्वोच्च प्राथमिकता दिन आग्रह गर्दै काउन्सिलले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई थप संवेदनशील, सजग र सचेत रहन अपिल गरेको छ ।

