Harsamaya
‘आशीर्वाद’लोकार्पणमा गोपाल पराजुलीले भने : धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र हो
सनातन एवं राष्ट्रिय एकताका पक्षधर, लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रको पुस्तक ‘आशीर्वाद’को लोकार्पण कार्यक्रम ।

काठमाडौं - सनातन एवं राष्ट्रिय एकताका पक्षधर, लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रको पुस्तक ‘आशीर्वाद’को लोकार्पण भएको छ ।

राष्ट्रगुरु योगी नरहरिनाथको प्राकट्य दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति ‘आशीर्वाद’ लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, राष्ट्र गुरु योगी नरहरिनाथका अनुयायी नाथगुरु नारायण नाथ, बौद्ध गुरु श्याल्पा तेन्जिङ रिम्पोछे, लेखक डा.शास्त्र दत्त पन्त, पशुपतिनाथका पूर्व मूलगुरु डा. विष्णु दाहाल, साहित्यकार रमेश शुभेच्छुकलगायतले आर सुरेन्द्रको आशीर्वादमाथि चर्चा गरेका थिए ।

पुस्तकबारे चर्चा गर्दै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र भएको बताए । आर सुरेन्द्रको पुस्तकले सनातन एकतालाई जोड दिएको प्रसंग उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले युवा पुस्ता त्यसतर्फ जागरुग हुनुपर्ने आवश्यकता औंल्याए ।

पुस्तकका लेखक सुरेन्द्रले तीर्थाटन वर्णनको बहानामा सनातन सभ्यताको पुर्नजागरणका लागि आशीर्वादमार्फत् लोक व्यूँझाउने प्रयत्न गरेको बताए । उनले तीर्थाटन र कर्मस्थलको अनुभवको वृतान्त केवल वहाना मात्र भएको र भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन प्रत्याभूतका निमित्त भदौ २३ र २४ मा भएको जेनजी विद्रोहमा प्राणआहुती दिने नवयुवाका तमाम आमाहरुको आशीर्वादले पुस्तक प्रकाशनको आशीर्वाद प्राप्त भएको उल्लेख गरे ।

उनले आध्यात्मिक चेतप्रतिको वर्तमान भाष्य परिवर्तन गरिनुपर्ने खाँचो औल्याउँदै र सर्वपक्षीय एकताबाट मात्रै संसारिक अस्थिरताको निवारण सम्भव रहेको चित्रण आशीर्वादमा गरेका छन् । मातृत्व, मातृभूमि र मानवताको सम्मानार्थ लिखित पुस्तक आशीर्वाद भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

पश्चिम नेपाल पाल्पाको विकट गाउँ चिर्तुङमा जन्मिएका सुरेन्द्र प्रकृतिप्रेममी, देशभक्त तथा राष्ट्रिय एकताका पक्षधर व्यक्तित्व हुन् । उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा प्राकृतिक विपद र युद्धका कारण आहत मानिसहरुलाई राहत तथा मानवीय सहयाता पुर्याउने कार्यमा २५ वर्षभन्दा बढी समय खर्चिएका छन् ।

लेखक सुरेन्द्रले बेलायत, जापान, अमेरिका, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट विभिन्न पाँच विषयमा उच्च शिक्षा हासिल गरेका छन् । राष्ट्रिय दैनिक तथा ब्रोडसिड अखबारमा उनले फ्रिलान्सर आधा दर्जनबढी लेखहरु लेखेका छन् भने पत्रपत्रिकामा एक दर्जनबढी कविता प्रकाशित छन् ।

विश्व कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयमा दख्खल राख्ने सुरेन्द्रको अर्को पुस्तक पनि प्रकाशनको संघारमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update