विराटनगर - नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर–६ का उम्मेदवार ड. शेखर कोइरालाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश सदस्य विजय कामत प्रमुख रहेका छन्। कामत तत्कालीन माओवादीबाट विराटनगर महानगरपालिका वडा नम्बर–६ का वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत करिब १५० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
नेता कोइरालाले नवप्रवेशीहरूलाई स्वागत गर्दै लोकतन्त्र सुदृढ बनाउन कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बताए। उनले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धतासहित आगामी निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न पनि आग्रह गरेका छन्।

