Harsamaya
भारतीय विद्युतीय स्कूटर ब्रान्ड एम्पीयर नेपालमा
भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) को ब्रान्ड एम्पीयर अब नेपाली बजारमा ।

काठमाडौं - भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) को ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ ।

एसटीसी अटो सोलुसन प्रा. लि. ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटर नेपालमा आधिकारिक रूपमा बिक्री सुरु गरेको जनाएको छ ।

कम्पनीले प्रारम्भिक चरणमा एम्पीयरका दुई मोडलका विद्युतीय स्कुटरसहित नेपाली बजार प्रवेश गरेको जानकारी दिएको छ ।

भारतमा विगत एक दशकदेखि विद्युतीय दुईपांग्रे सवारी उत्पादन गर्दै आएको कम्पनीका उत्पादनहरू त्यहाँ लोकप्रिय ब्रान्डमध्ये एक मानिन्छन् ।

एसटीसी अटो सोलुसनका अनुसार नेपाली बजारमा ल्याइएका स्कुटरहरू उच्च प्रदर्शनयुक्त र आधुनिक प्रविधिसहितका छन्। कम्पनीले ‘नेक्सस’ र ‘म्याग्नस निओ’ मोडलका स्कुटर बिक्री सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार यी स्कुटरमा लिथियम आयरन फोस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसको लाइफ साइकल करिब दुई हजार चार्जसम्म रहने बताइएको छ । ब्याट्रीमा पाँच वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको दाबी छ। अत्यधिक चिसो र तातो तापक्रममा परीक्षण गरिएको ब्याट्री प्रयोग भएकाले स्कुटर नेपाली भौगोलिक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ ।

म्याग्नस निओ मोडलमा करिब २.३ किलोवाट क्षमताको ब्याट्री र शक्तिशाली मोटर उपलब्ध रहेको छ । कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा करिब १०० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । यसमा आरामदायी सिट, १५० किलोग्रामसम्म भार बोक्ने क्षमता र पर्याप्त ग्राउन्ड क्लियरेन्स रहेको छ । यस मोडलको मूल्य करिब तीन लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

त्यसैगरी नेक्सस मोडलमा उच्च क्षमताको मोटर, पाँच राइडिङ मोड, रिभर्स सुविधा, एलईडी लाइट, यूएसबी चार्जर र कनेक्टिभिटी सुविधा उपलब्ध छन्। यस मोडलको मूल्य करिब तीन लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएको सन्दर्भमा एम्पीयर ब्रान्डको प्रवेशले प्रतिस्पर्धा बढ्नुका साथै उपभोक्तालाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ । कम्पनीले थप जानकारीका लागि आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update