काठमाडौं - निर्वाचन आयोग नेपालले निर्वाचन अवधिमा निषेध गरिएका कार्यहरू हुन नदिन र भए गरेको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ।
आयोगले विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचार–प्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन आग्रह गरेको जनाएको छ।
साथै जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ विपरीत कार्य गर्नेहरूलाई कारबाही गरी त्यसबारे आयोगलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।
आयोगले मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।
त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका सवारीसाधन) र कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ। उक्त रोक फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
यसैबीच मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइने आयोगले स्पष्ट पारेको छ। टिकट भएका यात्रुहरूले विमानस्थलदेखि होटल वा बसोबासस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिनेछ।
आयोगले मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य साथमा लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको जानकारी पनि दिएको छ।
त्यसैगरी सवारीसाधन पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाइ स्थापना गरी निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी परिचालन गरिने जनाएको छ।

