काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको कार्यक्रम अवरोध नगर्न सबैलाई आग्रह गरेको छ।
आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारमा अवरोध भएको गुनासो र उजुरी प्राप्त भएकाले यस्तो आह्वान गरिएको हो। आयोगले चुनावी गतिविधिको विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०८२ अनुसार जुलुस, सभा, भेला वा अन्य कार्यक्रम बिथोल्न नपाइने उल्लेख गरिएको छ। साथै निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ अनुसार प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ।
आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार र नागरिकले आचारसंहिता पालना गर्न आयोगले अनुरोध गरेको छ।

