भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउने उद्घोष गरेकी छिन् ।
सोमबार बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरुको हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन् ।
‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति हुँ । कांग्रेसको घरदैलोमा किन आइरहेको छु भने मेरो पार्टीभित्रको गलत प्रवृति भन्न पनि आएको हुँ । रास्वपाको स्थापनाकालदेखिको सदस्य हुँ तर कांग्रेससँग मेरो परिवारको साइनो भएकाले कविर दाईलाई जिताउनुपर्छ भनेर आएको छु,’ उनले अगाडि भनिन्,‘ नयाँलाई विश्वास गर्नुपर्छ भनेर लाग्यौ तर नयाँ भित्र धेरै खराब र अवसरवादी व्यक्तिहरु देखिएका छन् । हामी अवसरवादीहरुलाई भोट दिएर जिताउन चाँहदैनौं ।’
उनले रास्वपा विनाश हुनबाट रोक्नका लागि कांग्रेसको मन्चमा आएर उभिएको बताइन् । ‘कविर दाईलाई भोट मागिरहँदा कुनै स्वार्थ छैन् । यहाँ टुरिष्ट उम्मेदवारहरुपनि आउनु भएको छ । उहाँहरु भन्दा कविर दाई उपयुक्त पात्र हुनुहुन्छ,’ उनले भनिन् ।

