Harsamaya
स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन
निर्वाचन आयोग । तस्विर: हर समय/Har Samaya

काठमाडौं - निर्वाचन आयोग, नेपालले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत हुने गरी चुनाव प्रचार–प्रसारमा सहभागी नहुन चेतावनी दिएको छ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ।

आयोगका अनुसार केही स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसारमा संलग्न भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो।

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारमा संलग्न हुन नपाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। साथै, प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी स्रोत–साधन प्रयोग गर्नसमेत नपाइने उल्लेख गरिएको छ।

आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि आयोगले जनाएको छ।

प्रेस विज्ञप्तिमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निकायलाई आचारसंहिता कार्यान्वयनका लागि आवश्यक अनुगमन गर्नसमेत निर्देशन दिइएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update