काठमाडौं - विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य लाई साधारण तारेखमा राख्न आदेश दिएको हो।
दुवै जना आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानपछि भएको थुनछेक बहसपछि अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा विमानस्थल निर्माणका क्रममा मिलेमतोमा लागत बढाएर करिब ८ अर्ब ३६ करोड रुपैयाँ अनियमितता भएको आरोप लगाउँदै गत २२ मंसिरमा पाँच पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा धेरै आरोपीहरूलाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिइसकेको छ।

