Harsamaya
व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही
सांकेतिक तस्वीर : हर समय/Har Samaya

सप्तरी - स्थानीय प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकारवालाहरूको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

जिल्लाका केही खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरासमेत बिक्री–वितरण गरिरहेको सूचना प्राप्त भएपछि त्यस्ता मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरिएको उनले बताए । 

बैठकले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा बिक्रेताहरूले मदिरा बिक्री–वितरण गर्न पाउने समय साँझ ७ बजेसम्म र होटल तथा रेष्टुरेन्टमा मदिरा सेवन गर्ने समय सटर बन्द गर्ने गरी बढीमा राति ८ बजेसम्म मात्र रहने निर्णय गरेको छ।

त्यसैगरी, जिल्लाका विभिन्न मिठाई पसलमा उपभोक्ताको स्वास्थ्यमा असर गर्ने रङ प्रयोग गरी सामान उत्पादन गरिएको पाइए जफत गरी कारबाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसका साथै पान पसल, किराना पसल तथा स्टोरहरूमा इजाजतपत्रबिना सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको जनगुनासो आएकाले अनुगमन बढाउने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ अनुसार विद्यालय, कलेज, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबबाट कम्तीमा १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update