Harsamaya
राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिमलाई उपाधि

काठमाडौं - सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषको उपाधि जितेको छ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले ।

सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले ९ अंक जोडे । कोशी प्रदेश ६ अङ्कसाथ तेस्रो भयो । महिलामा गण्डकी १२ अङ्कसाथ पहिलो, सुदूरपश्चिम ९ अङ्कसाथ दोस्रो तथा मधेस प्रदेश ६ अङ्कसाथ तेस्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका सङ्गम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बने ।

महिलामा गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी चुनिए । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । पुरुष/महिलामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान ५–५ प्रदेश टिम सहभागी थिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update