काठमाडौं - सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुबीचमा उचित समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ ।
शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
उनले भने,‘रौतहटको घटनामा सबै पक्षलाई एउटा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिबाट एउटा आह्वान भएको छ । जुन रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचित समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ । आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको छ ।’
त्यस्तै, उक्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए । बैठकले सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

