Harsamaya
देश जलाएर होइन, भिजनले परिवर्तन सम्भव छ - कांग्रेस केन्द्रीय सदस्य सुनार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव बहादुर सुनार ।

मेलम्ची - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव बहादुर सुनारले विगतका कमजोरीलाई आधार बनाएर देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न नहुने बताएका छन्।

मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘विगतमा कुनै पार्टीबाट गल्ती भएको होला, तर त्यसैलाई निहुँ बनाएर देश जलाउने, देशलाई अस्थिरतामा लैजान मिल्दैन। अब देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउनुपर्छ।’

उनले नेपाली कांग्रेस नयाँ र स्पष्ट भिजनसहित जनतामाझ आएको उल्लेख गर्दै देश निर्माणको जिम्मा कांग्रेसले मात्रै वहन गर्न सक्ने दाबी गरे। ‘नेपाली कांग्रेस परिवर्तनको संवाहक हो। यो देशलाई समुन्नत र सम्पन्न बनाउन नेपाली कांग्रेस पार्टीले मात्र सक्छ,’ सुनारले भने।

सुनारले अन्य दलले यस क्षेत्रमा जितेर गएपछि दलित, महिला तथा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए। ‘अरू पार्टीले जितेर जाँदा दलित, महिला र सामाजिक क्षेत्रमा के काम गर्नुभयो? जनताले यसको मूल्यांकन गर्नुपर्छ,’ उनले प्रश्न गरे।

उनले दिएको जिम्मेवारी बीचमै छोडेर जाने व्यक्तिले स्पष्ट भिजनसहित चुनावी मैदानमा आउन नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे।

कार्यक्रममा उनले  सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र -२ बाट कांग्रेस बाट उम्मेदवार बनेका बंशलाल तामाङलाई विजयी गराउन अपिल गर्दै भने, ‘उहाँले हालसम्म निष्ठापूर्वक काम गर्नुभएको छ। दाग नलागेको नेतृत्व, इन्द्रावतीको भविष्य निर्माण गर्न समर्पित व्यक्तित्व हुनुहुन्छ।’

उनका अनुसार तामाङले गाउँपालिकामा देशकै नमुना गाउँपालिकाको भवन निर्माण, पक्की सडक विस्तार, खानेपानी आयोजना तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका छन्।

२५ वर्षको गुरुयोजना बनाउन सक्ने भिजनरी नेता बंशलाल भएको बताए। यस क्षेत्रको भविष्य सुनिश्चित गर्न तामाङ लाई मत दिएर जिताउन आवश्यक रहेको सुनारले बताए।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update