एजेन्सी - माल्दिभ्स सरकारले खर्च घटाउने उद्देश्यसहित राष्ट्रपति र संसदीय चुनाव एकै दिनमा सञ्चालन गर्ने सम्भावना परीक्षण गर्न आगामी अप्रिलमा राष्ट्रव्यापी जनमतसङ्ग्रह गर्ने निर्णय गरेको छ।
राष्ट्रपति मोहम्मद मुइज्जुले अप्रिल ४ का लागि जनमतसङ्ग्रह घोषणा गरेका छन्र्नु । प्रस्ताव स्वीकृत भएमा आगामी संसदीय निर्वाचन अगाडि सारिनेछ र हालको संसदीय कार्यकाल करिब पाँच महिना छोट्याइनेछ। हालको कार्यतालिका अनुसार संसदीय चुनाव सन् २०२९ को सुरुमा र राष्ट्रपति चुनाव सेप्टेम्बर २०२८ मा हुने तय छ।
राष्ट्रपतिको कार्यालयका अनुसार जनमतसङ्ग्रह स्थानीय परिषद्को निर्वाचनसँगै सम्पन्न गरिनेछ। राष्ट्रपति मुइज्जुले दुवै राष्ट्रिय चुनाव एकै दिन गर्दा करिब ८० लाख अमेरिकी डलर बचत हुने दाबी गरेका छन् । उनको पार्टीको बहुमत रहेको पिपुल्स मजलिसले गत हप्ता संवैधानिक संशोधनमार्फत चुनावी क्यालेन्डर समन्वय गर्ने प्रस्ताव पारित गरेको थियो। पूर्वराष्ट्रपति मोहम्मद मुइज्जुले पनि उक्त सुधारलाई समर्थन गरेका छन् ।
माल्दिभ्स हाल वित्तीय दबाब सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष पर्यटन क्षेत्र तीव्र रूपमा बढे पनि अर्थतन्त्र स्थिर बनाउन सुदृढीकरण उपायहरू अपनाउन सुझाव दिएको थियो। सन् २०२४ मा सरकारले आइएमएफको बेलआउट अस्वीकार गर्दै राष्ट्रपति मुइज्जुको तलब आधा गर्ने तथा व्यापक खर्च कटौती गर्ने योजना घोषणा गरेको थियो।
करिब तीन लाख ८२ हजार जनसंख्या रहेको माल्दिभ्सले हाल आर्थिक तनाव अस्थायी रहेको र बाह्य सहायता लिने योजना नरहेको जनाएको छ। प्रस्तावित कदमले खर्च बचतसँगै निर्वाचन प्रक्रियामा समन्वय र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

