Harsamaya
कास्की अदालतले रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।

सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयद्वारा पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो।

अदालतले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा रिट परेको कारणले मुद्दा तत्काल फिर्ता नहुने बताएको छ। अदालतले सर्वोच्च अदालतबाट हुने अन्तिम आदेश पेस भएपछि मात्र मुद्दामा निर्णय गरिने जनाएको छ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरिसकेको थियो। महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते मुद्दा फिर्ता लिने निर्णय गरेपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन पेस गरेको थियो।

रवि लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update