Harsamaya
टी–२० विश्वकपमा पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा

काठमाडौं -  टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा भारतले लगातार तेस्रो जित निकालेको छ । भारतले पाकिस्तानलाई ६१ रनले हराउँदै  सुपर एटमा स्थान पनि बनाएको छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।

खेलमा उस्मान खानले ४४ रन बनाउँदा अन्य ब्याट्सम्यान फल्प सावित भए । शादाब खानले १४ रन तथा फहिम अश्रफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोड्यो । इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे ।

यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित रहे । विरामी भएर आजको खेलमा पुनरागमन गरेका अभिषेक शर्मा भने खाता नखोली पभेलियन फर्किए । यस्तै, हार्दिक पाण्ड्या पनि शून्य रनमै आउट भए ।

भारतले पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको थियो भने दोस्रो खेलमा नामिबियालाई ९३ रनले पराजित गरेको थियो । यस्तै पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update