काठमाडौं - उज्यालो नेपाल पार्टीले पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाउँदै वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य लिएको छ ।
साथै, कृषि उत्पादन प्रवद्र्धन तथा निर्यात विस्तारका लागि नियमन प्रणालीलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।
आइतबार प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उज्यालो नेपाल पार्टीले पर्यटन क्षेत्रतर्फ विदेशी पर्यटक आगमन सन् २०३० सम्म २० लाख र २०३५ सम्म ५० लाख पुर्याउने लक्ष्य राखेको हो ।
त्यसका लागि पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, कलात्मक वस्तु निर्माण, हवाई सेवा विस्तारलगायतका नवीन तुलनात्मक लाभका क्षेत्र पहिचान गरिने उल्लेख गरिएको छ ।
प्राकृतिक तथा हिमाली क्षेत्रको विशिष्ट पहिचान प्रवद्र्धन गर्दै विश्वसम्पदा अवलोकनका लागि धार्मिक, आध्यात्मिक पर्यटन, स्वास्थ्य शिक्षा, उपचार सेवा तथा साहसिक खेलको केन्द्रका रूपमा नेपाललाई विकास गरिने योजना प्रस्तुत गरिएको छ ।
यसैगरी कृषि उत्पादन प्रवद्र्धन र निर्यात वृद्धिका लागि नियमन प्रणाली सुदृढ गरिने र पर्यटन आकर्षण बढेसँगै निर्यातबाट वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
पर्यटन समृद्धिको मार्ग
नेपाल पर्यटन दशक (२०२६–२०३५) : सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटन प्रवद्र्धन गरिनेछ। वर्षका ३६५ दिन पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी नेपाललाई पर्यटन हब बनाइनेछ ।
पर्यटन पूर्वाधार तथा कनेक्टिभिटी सुधार : स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा विकास गरिनेछ। नयाँ उडान गन्तव्य थप्दै ट्रेकिङ मार्ग, सडक, केवलकार तथा होमस्टेहरूलाई सुरक्षित र आकर्षक गन्तव्य बनाइनेछ ।
दिगो तथा समावेशी पर्यटन कोष : पर्यटनबाट प्राप्त राजस्वबाट रु. ५ अर्बको ‘पर्यटन समृद्धि कोष’ स्थापना गरी ग्रामीण महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणमा अनुदान उपलब्ध गराइनेछ ।

