एजेन्सी - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको आपत्तिजनक भिडियोप्रति कडा प्रतिक्रिया दिएका छन् ।
उक्त भिडियोमा ओबामा र पूर्वप्रथम महिला मिचेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको दृश्य समावेश भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको उनको टिप्पणी छ।
वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेन सँगको पोडकास्ट अन्तर्वार्तामा ओबामाले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको बताउँदै यस्तो व्यवहारलाई अधिकांश अमेरिकी नागरिकले गम्भीर रूपमा लिएको उल्लेख गरे ।
फेब्रुअरी ५ मा ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा सेयर गरिएको भिडियोमा सन् २०२० को चुनावसम्बन्धी दाबी दोहोर्याइएको थियो। भिडियोको अन्त्यतिर जोइ बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको अंश सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। ह्वाइट हाउसले सुरुमा ‘नक्कली आक्रोश’ अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण हटाइएको जनाएको थियो।
ओबामाले यस्ता सन्देशले आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई नै नोक्सान पुग्न सक्ने आकलन गर्दै अन्ततः जवाफ अमेरिकी जनताबाटै आउने बताए । त्यसैगरी उनले ट्रम्प प्रशासनद्वारा मिनेसोटामा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको पनि आलोचना गरे । संघीय एजेन्टहरूद्वारा सञ्चालन गरिएको छापा र गिरफ्तारी अभियानलाई ‘अधिनायकवादी शैलीसँग मिल्दोजुल्दो’ भन्दै उहाँले चिन्ता व्यक्त गरे ।
ओबामाले समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै नागरिक सक्रियताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

