काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ ।
पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
साथै, संविधानमा रहेका त्रुटि सच्याउँदै राज्यको संघीय पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ । घोषणा–पत्रमा वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै अस्थिर गठबन्धन, सिद्धान्तहीन राजनीति र बढ्दो भ्रष्टाचारले नागरिकको विश्वास कमजोर बनाएको आरोप लगाइएको छ । आर्थिक क्षेत्रमा सार्वजनिक ऋण वृद्धि, रेमिट्यान्समा निर्भरता, घरेलु उत्पादनमा गिरावट र बढ्दो युवा बेरोजगारीलाई गम्भीर चुनौतीका रूपमा औंल्याइएको छ ।
जसपा, नेपालले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने, न्याय प्रणालीलाई सुलभ र प्रभावकारी बनाउने तथा युवालाई देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । साथै, सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना, सहभागितामूलक समावेशी लोकतन्त्र सुदृढीकरण र सुशासनमार्फत आर्थिक सामाजिक न्यायसहितको समतामूलक समृद्धि हासिल गर्ने लक्ष्य अघि सारिएको छ ।
पार्टीले राष्ट्रिय÷जातीय पहिचानसहितको संघीयता संस्थागत गर्दै समाजवादी अर्थ राजनीतिक कार्यदिशा लागू गर्ने बताएको छ । समानुपातिक निर्वाचन प्रणालीलाई बलियो बनाउँदै सीमान्तकृत समुदाय आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, पिछडावर्गलगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
जसपा, नेपालले ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै घोषणा पत्रमार्फत देशलाई समावेशी विकास र दिगो समृद्धिको दिशामा अघि बढाउने दाबी गरेको छ ।

