काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक माहोल तात्तिएको छ ।
परम्परागत रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो पकड रहेको यस क्षेत्रमा यसपटक भने प्रतिस्पर्धा झनै चर्किने संकेत देखिएको छ । कुल २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमध्ये १६ जना विभिन्न राजनीतिक दलका र नौं जना स्वतन्त्र उम्मेदवार छन् ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका १९ वटा वडा समेटिएको यस क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला गरी कुल १ लाख ७ हजार ४४ मतदाता छन् । मतदाताको यो ठूलो संख्याले यहाँको निर्वाचनलाई झनै चासोको विषय बनाएको छ ।
नेमकिपाको ऐतिहासिक वर्चस्व
भक्तपुर–१ लाई लामो समयदेखि नेमकिपाको गढ मानिँदै आएको छ । २०४८ सालदेखि हालसम्म भएका कुनै पनि संसदीय निर्वाचनमा नेमकिपाले पराजय बेहोर्नुपरेको छैन ।
२०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगातार विजयी भएका थिए भने त्यसपछि २०७४ र २०७९ सालमा प्रेम सुवालले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्दै पार्टीको विरासत जोगाएका थिए ।
२०७९ सालको निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत ल्याएर भारी मतान्तरसहित जित हात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याउँदा उनीहरूबीच ३० हजार ७९३ मतको फराकिलो अन्तर थियो । तेस्रो स्थानमा राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत पाएका थिए भने माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका थिए ।
त्यसअघि २०७४ सालमा पनि सुवाल ३३ हजार ७६ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याउँदा उनीहरूबीच १५ हजार २५८ मतको अन्तर थियो । यसले नेमकिपाको बलियो जनआधार स्पष्ट पारेको थियो ।
यसपटक किन बढ्यो चुनौती ?
यद्यपि विगतको तथ्यांक नेमकिपाका पक्षमा देखिए पनि यसपटकको अवस्था केही फरक देखिन्छ । पहिलो कुरा, बहुदलीय प्रतिस्पर्धा अघिल्ला चुनावभन्दा फराकिलो बनेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलले सशक्त उम्मेदवार अघि सारेका छन् ।
नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोमप्रसाद मिश्र, रास्वपाबाट रुकेश रन्जित, राप्रपाबाट भरतबहादुर खड्का, माओवादीबाट चन्द्रमान कोजुलगायतका उम्मेदवारले सक्रिय प्रचार–प्रसार गरिरहेका छन् । यिनले नेमकिपाको परम्परागत मत आधारलाई खल्बल्याउने प्रयास गरिरहेका छन् ।
दोस्रो, स्वतन्त्र उम्मेदवारको संख्या पनि उल्लेखनीय छ । नौ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय असन्तुष्टि, विकासका मुद्दा र वैकल्पिक नेतृत्वको खोजीले स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढाएको विश्लेषण गरिएको छ ।
तेस्रो, मतदाताको संरचनामा पनि परिवर्तन देखिएको छ । नयाँ पुस्ताका मतदाता थपिएका छन् । युवा मतदाताले परम्परागत राजनीतिक धारभन्दा फरक विकल्प रोज्न सक्ने सम्भावना रहन्छ । सामाजिक सञ्जालको प्रभाव, राष्ट्रिय राजनीतिक बहस र सुशासनको मुद्दाले पनि मतदाताको सोचमा परिवर्तन ल्याएको देखिन्छ ।
विकास र प्रतिनिधित्वको बहस
नेमकिपाले आफ्नो जितको आधार स्थानीय मुद्दा, स्वच्छ छवि र वैचारिक स्पष्टतालाई मान्दै आएको छ । पार्टीले शिक्षा, स्थानीय उत्पादन, संस्कृति संरक्षण र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा निरन्तर आवाज उठाएको दाबी गर्छ । प्रेम सुवाल स्वयं पनि स्पष्ट वक्ता र संसदीय बहसमा सक्रिय सांसदका रूपमा चिनिन्छन् ।
तर विपक्षी दलहरूले भने विकासको गति अपेक्षित नभएको, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र लगानी भित्र्याउने सवालमा थप सक्रियता आवश्यक रहेको तर्क गरिरहेका छन् ।
विशेषगरी भक्तपुरजस्तो ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा आर्थिक अवसर विस्तार हुन नसकेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् ।
कडा प्रतिस्पर्धाको संकेत
यसपटकको निर्वाचनमा नेमकिपाले विगतझैँ सहज जित दोहोर्याउने कि विपक्षी दलहरूले मतान्तर घटाएर कडा प्रतिस्पर्धा खडा गर्ने भन्ने प्रश्न चासोको विषय बनेको छ । विगतमा फराकिलो मतान्तर रहेको भए पनि बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवारको उपस्थिती र बदलिँदो मतदाताको मनोविज्ञानले समीकरण बदलिन सक्ने संकेत देखिन्छ ।
नेमकिपाको संगठन बलियो भएपनि अन्य दलहरूको सक्रियता र गठबन्धनको सम्भावनाले यसपटकको चुनावलाई रोचक बनाएको छ । यदि विपक्षी मत विभाजित भए नेमकिपालाई फाइदा पुग्न सक्छ, तर विपक्षीहरूबीच रणनीतिक समन्वय भएमा परिणाम अप्रत्याशित हुनसक्ने आंकलन गरिएको छ ।
भक्तपुर–१ को निर्वाचन इतिहासले नेमकिपाको मजबुत पकड देखाउँछ । तर राजनीति स्थिर र स्थायी हुँदैन । समयसँगै जनअपेक्षा र राजनीतिक समीकरण बदलिन्छन् । यसपटकको निर्वाचनमा नेमकिपाले आफ्नो परम्परागत गढ जोगाउने कि नयाँ शक्ति उदाउने भन्ने कुरा मतदाताको निर्णयमा निर्भर रहनेछ ।
नेमकिपाका लागि यो चुनाव विगतको विरासत जोगाउने मात्र होइन, बदलिँदो राजनीतिक परिवेशमा आफ्नो प्रभाव कायम राख्ने परीक्षा पनि बनेको छ । - सबिता नयाँजू

