दैलेख - भैरवी गाउँपालिका–१ जलजलेमा करिब ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण भएको पुष्टि भएको छ।
चीनको ‘चाइना जियोलोजिकल सर्वे’कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनले यो तथ्य प्रमाणित गरेको हो।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार प्रारम्भिक अध्ययनले १ अर्ब १२ करोड घनमिटर ग्यासको अनुमान गरेको थियो, तर थप परीक्षण र विस्तृत अन्वेषणले धेरै ठूलो परिमाण पत्ता लागेको देखाएको छ।
खड्काले बताएअनुसार भण्डारण पुष्टि भए पनि व्यावसायिक उत्पादन क्षमता ‘वेल टेस्टिङ’ पछि मात्रै थाहा हुन्छ। यसका लागि ड्रिलिङ, चट्टान फुटाउने र ग्यासको तत्व परीक्षण गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
नेपाल सरकारले चीनको जियोलोजिकल सर्वेसँग रु दुई अर्ब ४० करोडको सहयोगमा अन्वेषण गरिरहेको छ। यस क्रममा सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्वे सम्पन्न भइसकेको छ।
विज्ञहरूले दैलेखमा फेला परेको ग्यास ‘शेल वा टाइट ग्यास’ प्रकृतिको रहेको बताए। यस्तो ग्यास चट्टानभित्र च्यापिएको भएर निकाल्न चुनौतीपूर्ण छ र यसका लागि विशेष प्रविधि अपनाउनु पर्छ।
अन्वेषण २०७६ असोजदेखि सुरु भएको हो। आगामी फागुन २१ को निर्वाचनमा पनि दैलेखका राजनीतिक दलहरूले ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।

