Harsamaya

काठमाडौं - अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि सरकारले चालु आर्थिक वर्षमा करिब एक लाख मेट्रिक टन रासायनिक मल कम आयात गर्ने भएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मलका लागि विनियोजन गरिएको रु २८ अर्ब ८२ करोड बजेटबाट ५ लाख ५० हजार मेट्रिक टन आयात गर्ने लक्ष्य राखिएको थियो। तर मूल्य बढेपछि करिब ८४ हजार टन कम आयात हुने अवस्था आएको छ।

हाल ४ लाख ६६ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र भइसकेको छ। केही परिमाण आइपुगेको र केही बाटोमै रहेको मन्त्रालयले जनाएको छ। बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजिए पनि थप रकम जुट्न नसकेको सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

मन्त्रालयका अनुसार अहिले करिब १ लाख १५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले किसानलाई तत्काल अभाव नपर्ने दाबी गरिएको छ। देशमा मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय बोलपत्रमार्फत आयात गरिँदै आएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update