लुम्बिनी - लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा भ्रष्टाचारसम्बन्धी ४ हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्।
आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुटवल कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा मात्र १ हजार ८५३ उजुरीमध्ये ८६.३६ प्रतिशत फछ्र्यौट गरिएको छ।
चालु आवको पुस मसान्तसम्म १ हजार १८८ उजुरी परेकामा ५४५ फछ्र्यौट भएका छन्। देशभर भने सो अवधिमा ३७ हजार २६ उजुरी दर्ता भएका छन्, जसमध्ये झण्डै ५४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।
भूमि तथा वन, कृषि–पशु अनुदान, आयोजना निर्माण तथा खरिद, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी उजुरी पर्ने गरेको आयोगले जनाएको छ।
कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए भने मुख्यमन्त्री चेतनारायण आचार्यले आयोगका निर्देशनका कारण कतिपय काममा अवरोध आएको गुनासो गरे।

