सिन्धुपाल्चोक - सिन्धुपाल्चोक–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोलमा तनाव बढेको छ। चौतारा साँगाचोकगढी नगरपालिका–२ का स्थानीय व्यापारी उमेश ढुंगानामाथि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप श्रेष्ठले हातपात गरेको आरोप लागेको छ ।
सोमबार चुनावी प्रचारका क्रममा घरदैलोमा पुगेका श्रेष्ठलाई ढुंगानाले आफूले पाउने रकम माग्दा कुटपिटको भागीदार हुनुपरेको बताए । उनले आफ्नो गाडी नै उडाइदिन्छु भन्दै श्रेष्ठले हातपात गरेको आरोप लगाए । ‘ नेकपा एमालेका क्षेत्र नम्बर-१ का उम्मेदवार सरेश नेपाल स्कर्पियोमा पछि हुनुहुन्थ्यो’, उनले भने, ‘दुई जना मान्छेले छुट्याएपछि म बाँचे ।’ उनले भोलि खोजी-खोजी मार्छु भनेको भन्दै दुखेसो पोखे ।
उनीहरू दुवैबीच २०७९ मा भएको चुनावमा भएको लेनदेनको विषयले विवादको रुप लिएको उनले बताए । ढुंगानाले वडाध्यक्ष श्रेष्ठसँग ८० हजार माथि पैसा लिन बाँकी रहेको उनको दाबी छ । घाइते ढुंगानाको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।
यता, वडाध्यक्ष श्रेष्ठले भने व्यापारी ढुंगानाले नेकपा एमालेका उम्मेदवार मत माग्न गएका बेला मापासे सेवन गरी बोलेरोले बाटो छेकी बसेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले आफूले बाटो नछेक्नु भनी सम्झाईबुझाई पठाइएको दाबी गरे । उनले कतै हातपात नगरेको दाबी गरेका छन् ।
उनले भने, ‘स्थानीय बोलेरो चालक व्यक्ति मापसे सेवन गरी बाटो छेकिरहेको अवस्थामा बाटो नछेक्नु भनी सम्झाई बुझाई पठाइएको यथार्थ कुरो साँचो हो।’ उनले आफ्नाबारेमा नचाहिने समाचारहरू आएकोमा भर्त्सना गरेका छन् ।
स्थानीयले भने ढुंगानाले मादक पदार्थ सेवन नगरेको बताएका छन्। अस्पतालले पनि ढुंगानाले मादक पदार्थ सेवन नगरेको रिपोर्ट दिएको छ ।
यस घटनाले निर्वाचनअघि मतदातामा डर र असुरक्षा पैदा गर्ने सम्भावना रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

