Harsamaya
बाँकेमा ७५ हातहतियार बुझाइयो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

नेपालगञ्ज - बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार जिल्ला प्रहरी कार्यालयसमक्ष बुझाइएको छ । प्रहरीले ती हातहतियार इलाका प्रहरी कार्यालय र चौकीहरूमा सुरक्षित राखेको छ । बुझाइएका हातहतियारमा भरुवा बन्दुक र बारबोरसमेत रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको थियो ।

यसैबीच, मतदाता शिक्षा कार्यक्रम गाउँगाउँ पुर्‍याउने तयारी सुरु भएको छ । निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाका आठ स्थानीय तहका सम्पर्क व्यक्तिहरू मार्फत ८१ वडामा ८१ स्वयंसेवक परिचालन गरिनेछ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाता संख्या तीन लाख ५० हजार ३७१ रहेका छन् भने जिल्लामा १३९ मतदान केन्द्र र ४०० मतदानस्थल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update