काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट–सुस्ता पश्चिम नवलपरासी गरी यी जिल्लामा मतपत्र छपाइ र प्याकिङ्ग दुवै सम्पन्न भइसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली दुवैका लागि मतपत्र छपाइ गरिएको हो। पुस २२ देखि सुरु भएको छपाइमा पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइएको थियो।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र पुस २६ देखि छपाइ सुरु भएको थियो र माघ १३ मा दुई करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ्ग, रुजु र ढुवानीका लागि तयार गरिएको आयोगले जनाएको छ।

