जुम्ला - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी गतिविधि तीव्र बनेको छ। एकमात्र निर्वाचन क्षेत्र भएकाले नौ वटा दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा सुरु भएको छ।
यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा (एमाले) का शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, नेकपा (माओवादी) का बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।
उम्मेदवारहरूले मतदातासँग भेटघाट, घरदैलो, सार्वजनिक बहस र प्रचार प्रसार तीव्र बनाएका छन्। विसं २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी भएका थिए। जुम्लाका मतदाताहरू प्रायः स्वविवेकका आधारमा मत परिवर्तन गर्ने गरिन्छ, जसले आगामी निर्वाचनमा परिणाम अनिश्चित देखाउँछ।
इतिहास हेर्दा, २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी) का नरेश भण्डारी विजयी भएका थिए भने २०७० मा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी भए। २०७४ मा माओवादीको गठबन्धनबाट पुनः गजेन्द्र महत विजयी भए। २०७९ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो, र तत्कालीन राप्रपाका ज्ञानबहादुर शाहीले २२,८१९ मत पाएका थिए।
समानुपातिकतर्फ २०७९ को निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी १०,५४८ मत ल्याएको थियो। कांग्रेसले १०,४७३, माओवादीले ८,९६० र राप्रपाले ५,७९६ मत पाएका थिए। स्थानीय तहको निर्वाचनमा आठवटै स्थानीय तहमध्ये कांग्रेसले छ, र माओवादीले दुईमा जित हासिल गरेको थियो।
जिल्लामा जम्मा मतदाता संख्या ७१,७३९ रहेको छ, जसमा ३४,२८० महिला र ३७,४५९ पुरुष मतदाता छन्। एक नगरपालिका र सात गाउँपालिका रहेका जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र स्थापना गरिएको छ।
निर्वाचन नजिकिँदै गर्दा दलहरूले घरदैलो, भेला, आन्तरिक छलफल र प्रचार प्रसार तीव्र बनाएका छन्। नेकपा एमालेले वडास्तरदेखि टोलस्तरसम्म संगठनात्मक गतिविधि तीव्र पारेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि जनवर्गीय संगठन र प्रशिक्षण कार्यक्रममार्फत मतदाता भेटघाट तीव्र बनाएको जनाएको छ।

