Harsamaya

खोटाङ - जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सहभागीहरू बिरामी परेपछि स्वास्थ्य शिविर सञ्चालन गरी उपचार थालिएको छ।

माघ २१ गते आयोजित विवाह भोज खाएको करिब १२ घण्टापछि सहभागीहरूमा ज्वरो आउने र झाडापखालाको समस्या देखिन थालेको हो। माघ २२ गते साँझदेखि स्थानीयहरू बिरामी पर्न थालेपछि निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा उपचार शिविर सञ्चालन गरिएको छ।

विवाह भोजका कारण ‘फुड पोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधि परिचालित भएका छन्।

गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालयबाट औषधिसहित थप जनशक्ति मगाइएको हो। हालसम्म शिविरमा ३५ जनालाई स्लाइनपानी तथा औषधि दिएर उपचार गरिएको छ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राईले विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको जानकारी दिँदै उदयपुर, काठमाडौँलगायत स्थान फर्किएका पाहुनासमेत बिरामी परेको खबर आएको बताइन्।

स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार विवाह भएको धेरै दिन भइसकेकाले भोजको नमुना परीक्षण गर्न सकिएको छैन। भोज खाएर काठमाडौँ गएका एक बिरामीलाई टेकु अस्पताल पठाइएको छ।

बिरामीको चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। गम्भीर अवस्थाका बिरामीलाई अस्पताल भर्ना गरी उपचार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update