Harsamaya
२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यद्यपि, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update