काठमाडौं- पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारले कुनै पनि हालतमा विजय हासिल गर्नुपर्ने बताएका छन् । उनले व्यक्ति यो वा त्यो नभनी कांग्रेसलाइ जिताउन लागी पर्न सबैलाई अनुरोध समेत गरेका छन् ।
आज राजधानी काठमाडौंमा कांग्रेस मेलम्ची नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आजै देखी आ-आफ्नो वडामा गएर सके सम्म अरूको पाटीका भन्दा दोब्बर मतले पार्टीलाई जिताउने गरी लागि पर्न अनुरोध गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा यो वा त्यो मान्छे नभई कांग्रेसले चुनाब जित्नु पर्ने धारणा राखे ।
‘निर्वाचनको तैयारी गरे पनि निर्वाचनको वातावरणलाई तीव्र रूपले अगाडी लान सकेको छैन । निर्वाचनको वातावरण तैयार गर्नका लागी हामी कांग्रेसहरु नै लागी पर्नु पर्ने देखिन्छ‚’ उनले भने‚ ‘त्यसैले कांग्रेसका कार्यकर्ता हामी सबैले आ-आफ्नो वडामा रुखको मत बढाउन लाग्न पर्ने बेला भएको छ।’
उनले सिन्धुपाल्चोक जिल्लामा कांग्रेसनै छैन भन्नेहरूलाई पनि जिल्लामा पहिलो पाटीको रूपमा स्थापित गर्न सफल हुँदै समन्वय प्रमुख समेत बनाउन सफल भएका बताए ।

