Harsamaya
भिटामिन डी को कमीले शरीरमा कस्ता समस्या ल्याउँछ ? 
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

चितवन - भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ  । सूर्यको प्रकाशसँग सम्पर्कमा  आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ ।

डा सापकोटाले भने, ‘भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।’ 

उनले नवजातदेखि १२ महिनासम्मको बच्चामा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यक पर्ने बताए । अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर धेरै बिरामी आउने गरेको उल्लेख गर्दै उनले भने, ‘भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो ।

खानपानबाट विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन । जस्तै नूनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ ।

नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।’ 

उनले थपे, ‘भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ । ’

उनले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए । उनले  जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताए । 

उनका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा बाङ्गो हुनु जस्ता लक्षण देखापर्ने  डा सापकोटाले बताए । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update