Harsamaya
माघ ९ :  मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली देखि नेपालको पहिलो जित सम्म
ग्राफिक्सः हर समय/harsamaya

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

निर्वाचन आयोगको आग्रह: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो।

नेपालको पहिलो जित: आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

मौसम बदली:  पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो । वर्षा भने आज अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए। यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए।

मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली: आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ । विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् ।

अवरुद्ध बनेका राजमार्ग सञ्चालन:  हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाडका राजमार्ग सञ्चालनमा आएका छन् । बैतडीको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध रहेका थिए। राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् ।

काङ्ग्रेस मधेशले नै बनाएको हो: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए । उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म पाँच वर्षको लागि काङ्ग्रेसबाट भर्खरै निकालिएको थिएँ । 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update